काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा महासचिव वेदुराम भुसालसहितका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाटका लागि धुम्बाराही पुगेका छन्।
एकीकृत समाजवादीको सचिवालय बैठक सकिएको केही बेरमै नेताहरु धुम्बाराही पुगेका हुन्। उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बुझिएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिका आकांक्षी हुन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिमा प्रस्ताव गरेको चर्चा छ।
कांग्रेसले भने माओवादी केन्द्रको मुख्य सहयोगमा आफैं उम्मेदवारी दिने तयारी गरिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कांग्रेस नेताहरुलाई सघाउने विश्वास दिलाएको नेताहरुको भनाइ छ।
बुधबार बिहान मात्रै देउवा र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको भेट भएको थियो। सो भेट पनि राष्ट्रपति निर्वाचनका विषयमै केन्द्रित थियो। आजै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेट भएको थियो।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको समय तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।