धनगढी– मंगलबार राति कैलालीको खानीडाँडामा सवारी बोक्ने गाडी सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी अत्तरियाले चेकजाँच गर्यो।
खप्तड डिलक्सको बा ५ ख ८४११ नम्बरको बसलाई चेकजाँच गर्दा व्यापारिक प्रयोजनका लागि सामान उक्त बसमा ढुवानी भइरहेको पाइयो।
सो बसमा युरियामल लगायत अन्य व्यापारिक सामान राखिएको थियो। यात्रु बोक्ने गाडीले व्यापारिक सामान बोक्न नपाउने भएपछि प्रहरीले यात्रुहरु सामानबाहेक व्यापारिक सामान नियन्त्रणमा लियो।
केही यात्रुले गुनासो गरेका कारण प्रहरीले सो गाडीमा राखिएको व्यापारिक सामान नियन्त्रणमा लिएको हो। कैलालीको धनगढीबाट प्रदेशका सात पहाडी जिल्लामा गुड्ने यात्रुबाहक सवारीले नियमित रुपमा व्यापारिक सामान ढुवानी गर्ने गरेका छन्।
प्रदेश ट्राफिक प्रहरी, जिल्ला ट्राफिक प्रहरीले कडाइका साथ सवारी चेकजाँच नगर्दा निर्वाध रुपमा यात्रुबाहक बसले व्यापारिक सामग्री ढुवानी गर्दै आएका छन्।
यात्रुका सामानबाहेक अन्य व्यापारिक सामग्री भने छतमा राख्न नपाइने व्यवस्था गरिएको छ। सरकारले गत २०७३ असोज ११ गतेदेखि राजपत्रमा नै प्रकाशित गरेर छतमा राख्न नपाउने व्यवस्था गरेको थियो।
तर, यहाँका यात्रुबाहक सवारीले खाद्यान्न, निर्माण सामग्री, पुस्तक, तरकारी, फलफूल लगायतका सामग्री पनि यात्रुवाहक सवारीमा बोक्दै आएका छन्। यात्रुका सामानसँगै व्यापारिक सामान गाडीमा राख्दा अनियन्त्रित भइ सवारी दुर्घटनाको जोखिम बढी हुन्छ।
‘बसमा यात्रुहरुले बोकेका सामान नै बढी हुन्छ। त्यसैमा व्यापारिक सामान हुँदा सवारी दुर्घटनाको जोखिम बढ्छ’, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले भने, ‘हामीले यात्रुबाहक गाडी व्यापारिक सामान ढुवानी हुन नदिन कडाइका साथ चेकजाँच अघि बढाएका छौं।’
उनले व्यापारिक सामान ढुवानी गरेको पाइएमा पहिलोपटक सामान निकालेर गाडीलाई गन्तव्य स्थानमा जान अनुमति दिने र पटक–पटक दोहोरिएमा भने जरिवानासहित कारबाही गरिने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।