एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्दै चिनियाँ राजदूत चेन सोङ। काठमाडौं– नेपालमा राष्ट्रपति निर्वाचनको विषयले राजनीति पेचिलो भइरहेका बेला चिनियाँ राजदूतले सक्रियता बढाएका छन्। नेपालका लागि चीनका राजदूत चेन सोङले विभिन्न दलका शीर्ष नेताहरूसँगको भेटवार्तालाई बाक्लो बनाएका हुन्।
उनले बुधबार दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन्। राजदूत सोङ नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।
अध्यक्ष नेपाल र राजदूत सोङबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको नेपालको सचिवालयले बताएको छ।
‘कोटेश्वरस्थित अध्यक्ष नेपालको नीजि निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो भने महामहिम राजदूतले राजदूतको रूपमा नेपाल आउन पाउँदा खुशी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो,’ सचिवालयले भनेको छ,‘उहाँहरूबीच नेपाल– चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भयो।’
राजदूत सोङले बुधबार बिहानमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए। त्यसअघि उनले केही दिन पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।