काठमाडौं- पूर्व स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य बीमा बन्द हुने अवस्थामा पुगेको बताएकी छिन्। संसद्मा बोल्दै उनले स्वास्थ्य बीमाको मोडेल सही नहुँदा ५० प्रतिशत जनताकोसमेत पहुँचमा नपुगेर बन्द हुने अवस्थामा रहेको भन्दै उनले ध्यानाकर्षण गराएकी हुन्।
उनले भनिन्, ‘स्वास्थ्य बीमा ५० प्रतिशत जनसंख्यामा नपुग्दै बन्द हुने अवस्थामा छ। यसको मुख्य कारण हो मोडेल। यही कारण हालै बोर्ड अध्यक्ष (डा सेनेन्द्रराज उप्रेति)ले समेत राजीनामा दिएका छन्।’
बीमामा समाजवादी मोडल जरुरी रहेको बताउँदै समतामूलक हुनुपर्ने बताइन्। ‘जसको अर्थ सक्नेले तिर्ने र नसक्नेले निशुल्क पाउनु हो। तर मजदुर र अर्बपतिले एउटै शुल्क तिर्नुपर्ने हाम्रो बीमाको मोडल छ। वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकियोस्,’ उनले भनिन्।
बीमा प्याकेजको मोडलका कारण अनावश्यक उपचार र जाँच हुने गरेको पनि उल्लेख गरिन्। उनले थपिन्, ‘जसरी पनि प्याकेज खर्च गर्नैपर्ने भनेर अनावश्यक उपचार र टेस्ट गरिने गरिन्छ। नियमन फितलो छ।’
स्वास्थ्य बीमाको सेवा निश्चित अस्पतालबाट मात्रै लिनुपर्ने अवस्थाकोसमेत अन्त्य गर्नुपर्ने उनको भनाइ छ। बीमा लागू भएका देशभरीका सबै स्वास्थ्य संस्थाबाट सेवा लिन पाउने व्यवस्था गर्न माग गरेकी छिन्। आफ्नै निर्वाचन क्षेत्र ललितपुर ३ का बासिन्दालेसमेत बीमाबाट सेवा पाउन नसकेको उनले गु्नासो गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।