काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रतिनिधि सभा चुनावी सभा जस्तो भइरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले संसद्मा जनताका सवाल र विकासका विषयमा छलफल नभएर पार्टी विशेषका विचार प्रस्तुत भइरहेको बताए।
उनले भने, ‘सदन चलेको धेरै भइसक्यो। बिजनेस नहुँदा हामी शून्य समय र विशेष समय चलाइरहेका छौँ। प्रतनिधि सभा पार्टीका विचार राख्ने चुनावी सभा जस्तो भएको छ। राष्ट्रिय मुद्दामा ध्यान जान जरुरी भइसकेको छ। जनताले विकास खोजेका छन्।’
उनले प्रदेश सरकार र स्थानीय सरकार निर्माण भए पनि अधिकार नपाउँदा सरकारको कार्यसम्पादन कमजोर भएको बताए। उनले भने, ‘संघीय संसद्को प्रमुख काम भनेको संघीय कानुन बनाउनु हो। अघिल्लो सभाले बनाउन सकेन। अहिले सरकार बनेर यहाँसम्म आइपुग्दा विधेयक पेस भइसकेका छैनन्। प्रहरी संघीय सरकारको मातहतमा छ। त्यसैले त्यही मन्त्रालयमा जान हानथाप छ। शान्ति सुरक्षा प्रदेशको मातहत हुने भनिएको छ।’
उनले संघीय निजामति ऐन नबन्दा कर्मचारीहरु र सरकारको तालमेल नमिलेको बताए। ‘प्रदेश सरकारमा मन्त्री प्रदेशका र संघका सचिव छन्। उनीहरुबीच काम गर्ने तादम्यता मिलेको छैन,’ उनले भने, ‘प्रदेश सरकार अनुदानका भरमा टिकेका छन्। अन्य स्रोतहरु छैन। संविधानमा भएको व्यवस्थाअनुसार प्राकृतिक स्रोत साधनको बाँडफाँट हुनुपर्छ। त्यसपछि मात्रै उनीहरु आत्मनिर्भर हुन्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।