सत्यवती– गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ। भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ। राँगा पाल्ने ३ किसानलाई ३ हजारसहित सम्मानसमेत गरिएको खनालले बताए। ‘राँगाको यथेष्ट तथ्याङ्क सङ्कलन गरी योजना बनाउँदै छौँ,’ उनले भने।
गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्याङ्क सङ्कलन गर्न लागिएको बताए। ‘राँगाको नश्ल सुधारको योजना छ,’ उनले भने। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ।
गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ। राँगाको तथ्याङ्क सङ्कलन गरी बिमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ। पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्याङ्क अभिलेख गर्ने गाउँपालिकाको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।