चितवन– सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ। मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन्।
नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँछन्। चितवन र तनहुँमा रहेका दराईहरुले मातृ भाषा बढी मात्रामा बोलिने भए पनि अन्य जिल्लामा ज्यादै न्यून हुँदै गएको उनले बताए।
नेपालका १६ जिल्लामा १६ हजार सात सय ८९ जनसङ्ख्या रहेको दराईका बालबालिकामा भने भाषाको ज्ञान ज्यादै न्यून रहेको उनको भनाइ छ। जीवन र जाति संरक्षणमा महत्वपूर्ण हुने मातृ भाषा हराउँदै जानुले भविष्यमा लोप हुने जोखिम रहेको उनको चिन्ता छ।
सरकारले संस्थागत रुपमा अभियान सञ्चालन गरेर मातृभाषा संरक्षणमा काम गर्नुपर्ने उनको सुझाव छ। उनले भने, ‘भाषा संरक्षणका लागि सङ्ग्रहालय जस्ता संरचना निर्माण गरेर काम गर्नुपर्छ। सञ्चारमाध्यमले पनि दराई भाषालाई स्थान दिनुपर्छ।’
थारु कल्याणकारी सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी पछिल्लो समय युवा पुस्तामा आफ्नो मातृभाषाको ज्ञान हुनुपर्छ भन्ने भावना जाग्दै गएको बताउँछन्। बीचको समयमा युवा पुस्तामा हराउँदै गएको भाषालाई पुनः जागृत गराउने कार्य भइरहेको उनले बताए।
उनले भने, ‘मातृभाषाको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्दैछौं।’ देशैभर बोल्ने थारु भाषालाई एउटै मानक भाषा बनाउने काममा कल्याणकारीसभा लागेको उनी बताउँछन्। सरकारले समयमै भाषा संरक्षणमा काम गर्नुपर्ने उनको सुझाव छ। सभाले देशभर झण्डै ४० लाख थारु जाति रहेको जनाउँदै आएको छ भने सरकारी तथ्यांक १७ लाख मात्रै रहेको उनी बताउँछन्। झापादेखि कञ्चनपुरसम्मका तराई र भित्री मदेशमा थारु जातिको बसोबास छ।
नेपालका चेपाङ युवा पुस्तामा पनि मातृभाषाको समस्या छ। चेपाङ सङ्घको शिक्षा विभाग हेर्दै आएका तिलकबहादुर चेपाङ ६८ प्रतिशतले मातृभाषा बोल्ने बताउँछन्। भाषाको एकरुपताका लागि तालिम दिने कार्य भइरहेको उनको भनाइ छ।
चेपाङ संघले सबैतिरका चेपाङले बोल्ने भाषालाई संयोजन गरेर शब्दकोषसमेत प्रकाशित गरेको छ। उनको भनाइमा सहरीकरणसँगै युवा पुस्तामा भाषा कमजोर बन्दै गएको छ। यस्तै अवस्था रहेमा चेपाङ भाषा लोप हुने भन्दै उनले भने, ‘सरकारले भाषा संरक्षणमा ध्यान दिएको देखिँदैन।’
चितवन, मकवानपुर र गोरखाका तीन विद्यालयमा चेपाङको मातृभाषामा पढाइ हुँदै आएको छ। चेपाङका शिक्षित युवाले शिक्षक अनुमतिपत्र पाउन नसक्दा भाषा शिक्षकको अभाव भएको उgको गुनासो छ।
नेपालमा ७९ हजार चेपाङ समुदाय रहेको तथ्यांक छ। जसको ३६.१ प्रतिशत मात्रै साक्षर रहेको उनले बताए। नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटे ५० प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँछन्। उनले भने, ‘भाषा र संस्कृति हराइसक्यो, जगेर्नाका लागि सुरुवात गरेका छौं।’
युवा पुस्तामा मातृभाषा बोल्ने न्यून हुँदै गएको भन्दै उनले समयमै संरक्षण गर्न नसके लोप हुने चिन्ता व्यक्त गरे। जनसङ्ख्या कम र छरिएर रहेकाले मातृभाषाको प्रयोग कम हुँदै जाँदा संरक्षणमा कठिनाइ भएको उनको भनाइ छ। उनको भनाइमा नौ जिल्लामा एघार हजार नौ सय जनसंख्या रहेको छ ।
नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय अध्यक्ष विशाल कुमाल १२ प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँछन्। नेपालमा ७५ जिल्लामा एक लाख २१ हजार एक सय ९६ जनसङ्ख्या रहेको जानकारी दिँदै उनले गाउँघरमा बुढाबुढीले मातृभाषा बोल्ने गरेको बताए।
उनले भने, ‘बालबालिका अन्य जातिको जस्तो गरी मातृभाषा बोल्दैनन्।’ आफूहरुले राज्यसँग सहकार्य गरेर भाषा संस्कृति संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ। पाठ्यक्रम विकास केन्द्रले २८ वटा मातृभाषाको पाठ्यक्रम तयार गरेको छ। केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल अन्य भाषाको पनि पाठ्यक्रम बन्ने क्रममा रहेको बताउँछन्।
थारु, मैथली, भोजपुरी, अवधि, शेर्पा, मगर, नेवारी जस्ता भाषाको पाठ्यक्रम बनेर प्रयोग राम्रो भए पनि अन्य भाषाको पाठ्ययक्रम बनेको तर प्रयोगमा कम आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।