मोरङ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन्। विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।
कर्मचारी सरुवाको बेथिति न्यूनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौं, सरुवामा अब भनसुन चल्दैन।’
भरखरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनिकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेकोसमेत मन्त्री मोदीले उल्लेख गरे।
भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै मन्त्री मोदीले पार्टी निकट कर्मचारीहरुलाई भने, ‘हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईंहरुले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ।’
माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्नसमेत मन्त्री मोदीले आग्रह गरेका छन्।
ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीहरुले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिए। जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए।
प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्नका लागि जोड दिन मन्त्री मोदीले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।