काठमाडौं– प्रमुख अन्न तथा तरकारी बाली/बस्तुको आयात घटाउन भनेर सरकारले सुरु गरेको ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’का लागि विनियोजित बजेट अर्थ मन्त्रालयले रोक्का गरिदिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा खाद्यान्नको आयात ३० प्रतिशत कम गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्ने भनेर कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गत ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ सञ्चालन गरिएको थियो।
कार्यक्रममार्फत् स्थानीय तहको अग्रसरतामा प्रमुख खाद्यान्न बालीहरु धान, मकै, तरकारी, आलुलगायतको उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको थियो। कार्यक्रम कार्यान्वयनका लागि गत असोजदेखि कार्यविधि लागू भएको थियो। तर, पूर्ण कार्यान्वयनमा नजाँदै अर्थ मन्त्रालयले कार्यक्रमका लागि विनियोजित ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बजेट रोक्का गरिदिएको छ।
अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पत्र लेख्दै कार्यक्रमको बजेट रोक्का गरिएको जनाएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकास कुमार सञ्जेलले अर्थ मन्त्रालयबाट बजेट रोक्का भएको भनेर पत्र प्राप्त भएको जानकारी दिए।
‘रोक्का गर्नुको कारण त हामीलाई थाहा भएन। तर अहिले राजस्व कम उठेकाले आम्दानी र खर्चको ग्याप भएको कारणले होला। अर्थ मन्त्रालयले रोकेको विषयमा हामीले यो कारण होला भन्न सकेनौं,’ सञ्जेलले भने।
![Krishi_Prog_Budget_rokka1676965654.jpg](https://nepallive.net/uploads/posts/Krishi_Prog_Budget_rokka1676965654.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।