काठमाडौं– खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार हुन थालेको छ। उपचारका लागि भारतको मुम्बई लगिएका नेता भण्डारीसँगै रहेका कांग्रेस नेता योग राज कँडेलका अनुसार भण्डारी पछिल्लो समय कुराकानी पनि गर्न थालेका छन्।
कँडेलका अनुसार भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको छ। उनको ईटी ट्यूब पनि निकालिएको कँडेलले जानकारी दिए।
‘अहिले रिजरभायर ब्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। अहिले पनि ट्रयालमै राखिएको हो। डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको, तर डराउनुपर्ने अवस्था नरहेको डाक्टरबाट जानकारी प्राप्त भएको छ।’
कल्चर रिपोर्ट मंगलबार साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारीपश्चात एन्टिबायोटिकको मात्राको थपघट हुने जानकारी चिकित्सकले दिएको कँडेलले उल्लेख गरेका छन्।
‘ज्वरो आएको छैन। प्रत्येक दिन छातीको फिजियो भइरहेको छ। सुनिएको अनुहार पुरानो अवस्थामा फर्केको छ। कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिन्छ,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्।
भण्डारीले चिकित्सक र मेडिकल स्टाफ (नर्स)हरुसँग कुराकानी गरेको पनि कँडेलले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।