काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले आफैं राष्ट्रपति बन्नेबारे सोचिनसकेको बताएका छन्। मंगलबार दाङमा पत्रकारहरूसँग कुरा गर्दै उनले चाहना राख्ने बेग्लै कुरा भएको भन्दै आफ्नो चाहनालाई पनि लुकाएनन्।
‘चाहना राख्ने बेग्लै कुरा भयो। मैले नै आफू के गर्ने भनेर सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘तर, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने धारणा छ। हामी अरुका निम्ति मात्रै सधैं बलिदान हुने, अरुले फाइदा उठाउने कुरा हुनसक्दैन।’
अध्यक्ष नेपालले राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेस र माओवादी केन्द्रसँग आफूहरूको कुराकानी भएको बताए। उनले त्यतिबेला आफूहरूले केही नामहरू अघि सारेको र उनीहरूको सहमति रहेको बताए।
उनले देशको हितको रक्षा गर्ने कुराको सन्दर्भमा सबैले गम्भीर बन्नुपर्ने बताए। ‘संविधानलाई जोगाउने र बचाउने कुराको सन्दर्भमा हामी अत्यन्तै चनाखो हुनुपर्ने भएको छ। यो गणतन्त्रलाई रक्षा गर्ने सन्दर्भमा सजग हुनुपर्ने भएको छ’, उनले भने।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवारको रुपमा नेपाललाई नै अघि सार्न लागेको समाचारहरू सार्वजनिक भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।