काठमाडौं– श्रमजीवी-पत्रकार संघ, नेपालले सञ्चारमन्त्री रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ। आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका माग राख्दै संघका अध्यक्ष जन्मदेव जैसी लगायतको समूहले मन्त्री शर्मालाई नौ बुँदे अधिकारपत्र बुजाएको हो।
अधिकारपत्रमा श्रमजीवीहरुको पारिश्रमिक प्रत्येक २/२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएयता ३ वर्ष बितिसक्दा पनि पारिश्रमिक वृद्धि नगरिएको उल्लेख गरिएको छ।
साथै ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका विषय सम्बोधनका लागि मन्त्री शर्मालाई पत्र बुझाएको अध्यक्ष जैसीले बताए।
संघले २०५१ सालमा बनेको श्रमजीवी सम्बन्धी पत्रकार ऐन परिवर्तित स्थिति अनुसार संशोधन गर्न माग गरेको छ। श्रमजीवीहरुको पेशागत, भौतिक, सामाजिक एवं अर्थ रक्षाका लागि एक स्वायत्त नियमन निकायको रुपमा ‘पारिश्रमिक निर्धारण तथा नियमन आयोग’को गठन र प्रस्तावित सो आयोगको फराकिलो क्षेत्राधिकार निर्धारणसहितको कार्यविधि निर्माण गर्न माग गरिएको अध्यक्ष जैसीले बताए।
यस्तै कथित ठूला मिडियाको विज्ञापनमाथिको एकाधिकार तोड्न स्थानीय निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यामलाई नै उपलब्ध गराउने ग्यारेन्टी गर्न पनि माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।