सुनसरी– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीहरु कामभन्दा राजनीतिक गतिविधिमा बढी क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन्।
सुनसरीको तरहरामा जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा मन्त्री मोदीले यस्तो चेतावनी दिएका हुन्। ‘राष्ट्रसेवक कर्मचारीहरु यदि कानुनभन्दा बाहिर गएर राजनीतिक रुपमा क्रियाशील हुनुभयो भने हामी कानुनी दायरामा ल्याएर कारबाही गर्छौं’, मन्त्री मोदीले भने।
अधिकृतस्तरको कर्मचारीसम्मलाई राजनीतिक गतिविधिमा संलग्न हुने कानुनी अधिकार भए पनि उपसचिवभन्दा माथि दर्जाका कर्मचारीसमेत राजनीतिक गतिविधिमा देखिएको गुनासो आएको मन्त्री मोदीले बताए। मन्त्री मोदीले अधिकृतस्तरका कर्मचारीहरुले पनि पहिला जनताको सेवा र त्यसपछि मात्रै राजनीतिक गतिविधि रोज्न निर्देशन दिए।
‘अधिकृत स्तरसम्म त ट्रेड युनियनमा आबद्ध हुन्छन्, उनीहरुको नेतागिरीलाई अस्वभाविक मान्न सकिँदैन’, मन्त्री मोदीले भने, ‘त्योभन्दा माथि उपसचिव दर्जाका कर्मचारी साथीहरुले दलगत स्वार्थ राखेर राजनीतिक रुपमा क्रियाशील हुनुभयो भने हामी कानुनी दायरामा ल्याएर कारबाही गर्छौं।’
मन्त्री मोदीले सरकारको उद्देश्यअनुसार कार्यसम्पादनमा लाग्नु कर्मचारीहरुको मुख्य दायित्व भएकाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउनसमेत निर्देशन दिए।
उनले भने, ‘जे उद्देश्यबाट तपाईंहरुलाई सरकारले खटाएको हुन्छ, सरकारको उद्देश्य पूर्तिका लागि कानुनसंगत ढंगबाट कार्यसम्पादनमा लाग्नका लागि म विशेष निर्देशन दिन चाहन्छु।’
कतिपय कर्मचारीहरुले राजनीतिक पूर्वाग्रह राखेर सेवा प्रवाहमा ढिलाई गरेको गुनासो सुनेको औंल्याउँदै मन्त्री मोदीले भने, ‘राजनीतिक पूर्वाग्रह राखेर सेवा प्रवाहमा ढिलाई नगर्नका लागि म निर्देश गर्न चाहन्छु।’
जनताको सेवाका लागि कर्मचारीहरुमाथि राज्यले लगानी गरेको बताउँदै मन्त्री मोदीले राज्यको लगानी सम्झेर सेवाग्राहीको समस्या द्रुत गतिमा समाधान गर्नेमा जोड दिन निर्देशन दिए।
मन्त्री मोदीले संघीय निजामती ऐन संसद्को चालू अधिवेशनमै पेस गर्ने तयारी भइरहको मन्त्री मोदीले बताए। संघीय निजामती ऐन संशोधन नै हुन नसक्ने कुनै पुराण वा बाइबलजस्तो नभएको बताउँदै मन्त्री मोदीले भने, ‘हामी चालू अधिवेशनमा नै संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा छौं, पछि हामी संशोधन गर्दै जान्छौँ, अहिले जसैगरी ऐन ल्याउने तयारीमा छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।