काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमै दलको उम्मेदवार राष्ट्रपति बन्न पाउने व्यवस्था नभएको बताएका छन्। पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पुस १० मा भनिएको सहमति बाध्यकारी नभएको बताए।
एमाले र माओवादी केन्द्र लगायतका दलहरुबीच गत पुस १० गते सत्ता साझेदार बन्दा प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई र राष्ट्रपति तथा सभामुख एमाले उम्मेदवारलाई सघाउने भन्ने सहमति भएको बताइन्छ। त्यसबारे सोधिएको प्रश्नमा गुरुङले भने, ‘सिफारिस गर्ने कुरा एउटा हो। सिफारिस नै मान्नुपर्छ भन्ने बाध्यकारी छ?’
एमालेले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रपति नदिँदा धोका हुँदैन? भन्ने प्रश्नमा उनको प्रतिप्रश्न थियो- ‘कसरी धोका हुन्छ? संविधान विपरीत कुरा गर्न पाउनुहुन्छ तपाईं? संविधानमा दलको उम्मेदवारलाई राष्ट्रपति बनाउने व्यवस्था छ? कहाँ छ देखाउनुस् त? अनि हुँदै नभएको हावादारी कुरा गर्ने? संविधानको कुरा गर्नुपर्यो नि। संविधानभन्दा विपरीत खालको कुरा गर्ने? संविधान मिच्ने कुरा गर्ने?’
गुरुङले जुन दलले साझा सहमति हुनसक्ने पात्रलाई अघि सार्छ, उसैमा सहमति हुनसक्ने बताए। ‘जसले राष्ट्रियताको पक्षमा, संविधानको पक्षमा, गणतन्त्रको पक्षमा, संसद्को पक्षमा, जसले भूमिका निर्वाह गर्न सक्छ, जसलाई साझा बनाउन सकिने सम्भावना हुन्छ, जसलाई सबैले समर्थन गर्न सक्ने खालको सम्भावना हुन्छ। उसैलाई समर्थन हुन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।