काठमाडौं– राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो।
सो परिसरमा आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गर्दै उक्त निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची कार्यालयलाई उपलब्ध हुने र कार्यालयबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने बताएका छन्।
उनले पछिल्लो राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको बताएका छन्।
प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ बजेसम्म मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको र कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने बताएका छन्। मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमै हुनेछ ।
दुवै पदका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन्।
प्रतिनिधि सभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ। विद्यमान कानुनअनुसार प्रदेश संसद्का प्रति सदस्यको ४८ मतभारका दरले २६ हजार ४०० र संघीय संसदको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ।
वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ। संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक–फरक लिंग र समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।