काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत्का तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात काठमाडौंमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।
उनले भने, ‘पाइप फुटेपछि मन्त्री ज्युको निर्देशन पश्चात हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौं। अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने छौं ।’
विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवले बताउँदै आएका छन् ।
विद्युत्का तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विशेष अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो। तीन घण्टाको अवधिमा करिब ३० लाख लिटर पानी खेर गएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।