मुम्बई– ग्यास लिक भएर आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ।
गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए।
उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ। भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताए।
गत बुधबार राति आफ्नै निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।
घटनालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।
नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत् भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।