काठमाडौं– नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताएका छन्।
शनिबार नामिवियाबिरुद्ध ज्ञानेन्द्र र आसिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएको खेलमा पूर्व कप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिएका हुन्।
यस्तै उनले नयाँ प्रशिक्षकको प्रशिक्षणमा पनि टोलीले राम्रो प्रदर्शन गरेको बताए। ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको भन्दै विगतभन्दा अहिले खेलाडीहरूमा परिपक्वता बढेको पनि उल्लेख गरे।
पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद् नतिजा निकाल्न सहयोग मिलेको उनको भनाइ छ। लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताए।
यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडीहरु अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताएका छन्। अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेको दुःखी देखिएका आसिफले शनिबारको खेलमा रन बनाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिए। नेपालले लागातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भूमिका निकै राम्रो भएको उनको भनाइ छ।
ओपनर आसिफ सेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिबार नामिबियामाथि तीन विकेटको जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ। यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।