काठमाडौं- महाशिवरात्रिका अवसरमा शनिबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको छ। शुक्रबार रातिदेखि नै भक्तजनको घुइँचो लागेकाले दर्शनको सहजताका लागि बिहानै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ। पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ। विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।
महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर तीन र भित्र पाँच वटा लाइनको व्यवस्था गरिएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।
यसैगरी, तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको छ। नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायतका स्थानमा व्यवस्था मिलाइएको छ।
शनिबार पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ। काठमाडौं बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।