काठमाडौं- शनिबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी महाशिवरात्री पर्व मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व शिवको पूजा–आराधना गरी देशभर मनाउन लागिएको हो।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु यो दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्री मनाउने गरिएको हो भन्ने भनाइ छ।
यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ। कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ।
महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न शनिबार देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।