काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले स्कटल्यान्डसँग नेपालले जित निकालेको छ। स्कटल्यान्डले घरेलु टोली नेपाललाई दिएको २ सय ७५ रनको लक्ष्य ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको हो।
नेपालका दीपेन्द्र सिंह ऐरीले सबैभन्दा धेरै ८५ रनको योगदान गरे। ८ चौका र एक छक्काको सहारामा ११६ बल खेल्दै उक्त योगफल तयार गरेका हुन्।
ऐरीले कुशल मल्लसँग उत्कृष्ट साझेदारी गर्दै धर्मराएको नेपालको खेललाई लयमा फर्काए। मल्लले ६७ बल खेल्दै ८१ रन बनाए। ९ चौका र ६ छक्का प्रहार गरेका उनी क्याचआउट भएका हुन्।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ८ बलमा १६ रन बनाएका थिए। उनी तेस्रो ओभरको पहिलो बलमा आउट भए। त्यसैगरी, सोमपाल कामीले २४ रनसहित अविजित खेले। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्।

स्कटल्याण्डसँग जवाफी गर्दा नेपालले ११ औं ओभरमै पाँचौं विकेट गुमाएको थियो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो।
माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको पारी खेले। २४.२ ओभरमा ६ विकेट गुमाएर १११ रन बनाएको स्कटल्यान्डलाई लिस्कले उकासेका थिए।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिदै ३ विकेट लिए। यसैगरी, कुशल मल्लले २, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
नेपालले पहिलो खेलमा मंगलबार नामिबियालाई २ विकेटले हराएको थियो। स्कटल्यान्डले भने नामिबियालाई १० विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।