काठमाडौं– पूर्वदेखि पश्चिमसम्मका मुक्त कमैया, हलिया, कमलरी र हरुवा चरवाहरूले संघर्ष समिति बनाएर १० बुँदे माग सार्वजनिक गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विगतमा सरकारले गरेको घोषणा र प्रतिबद्धता पूरा गर्न तथा आफूहरूको पुनःस्थापनाको जिम्मा लिन उनीहरुले माग गरेका छन्।
सुदूरपश्चिमका थारु समुदायमा व्याप्त कमैया प्रथा मुक्तिको घोषणा भएको २२ वर्ष भए पनि व्यवहारिक रुपमा त्यहाँ अहिले पनि उक्त प्रथा कायम रहेको उनीहरुको भनाइ छ।
पश्चिम पहाडको हलिया प्रथा र मधेसको हरवाचरवा प्रथा अन्मुलनको घोषणा गरिए पनि पुन:स्थापनाको काम भने बाँकी छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया श्रमिक (कमैया, कमलरी, हलिया तथा हरवाचरवा) पुनःस्थापना कार्यविधि तथा कार्ययोजना २०७९ बनाएर पुनःस्थापनाका लागि साझा पहल गर्ने प्रतिबद्धता जनाएका थिए। तर‚ त्यस्तो प्रतिबद्धताको ६ महिना बितिसक्दा समेत सरकारबाट आशालाग्दो काम नभएपछि आफूहरु खबरदारीमा उत्रिएको उनीहरुको भनाइ छ।
संघर्ष समितिका संयोजक दशनलाल मण्डलले दास प्रथाकै एक अवशेषका रुपमा रहेका कमैया, हलिया, कमलरी र हरवाचरवाहरूको एकै किसिमबाट पुनःस्थापना हुनेगरी कार्यविधि निर्माण गरी काम गर्न माग गरे। ‘कमैया श्रमिक (कमैया, कमलरी, हलिया तथा हरवाचरवा) पुनःस्थापना कार्यविधि तथा कार्ययोजना २०७९ छिटोभन्दा छिटो मन्त्रिपरिषद्बाट पारित हुनुपर्छ,’ उनले भने, ‘पुनःस्थापनाको बजेटसहितको कार्ययोजना बनाएर त्यसको कार्यान्वयन हुन आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।