काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज (शुक्रबार) स्कटल्याण्डसँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा घरेलु टोली नेपाल स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ। यसो त आईसीसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने छैन।
कीर्तिपुर खेल मैदानमा बुधबार भएको खेलमा नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै स्कटल्याण्ड लिग २ को विजेता बनेको थियो। स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो।
यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो। नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षणमा नेपाललले पहिलो पटक नामिबियालाई हराएको थियो। नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।
लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ३३ खेलमा २३ मा जित र ८ खेलमा हार बेहोरेको छ। स्कटल्याड ४८ अंकमा साथ शीर्ष स्थानमा छ। स्कटल्यान्डले अब नेपालसँग २ र नामिबियासँग १ गरी कूल ३ खेल खेल्न बाँकी छ। बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्ष स्थानमै रहनेछ। उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन्।
त्यस्तै, लिग–२ मा नेपालले अब ११ खेल्न बाँकी छ। २५ खेलमा ९ मा जित र १४ खेलमा हार बेहोरेको नेपाल २० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ। एकदिवसीय मान्यता पाएका विभिन्न ७ एशोसिएट राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन्। नेपाललाई एकदिवसीय मान्यता बनाइरहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ।
नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवसीय विश्वकप छनोट प्लेअफमा पपुवान्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। नेपालको त्यो एकदिवसीय मान्यता आगामी जुलाईसम्म मात्र रहनेछ। एकदिवसीय मान्याता राखिरहन पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ। एकदिवसीय मान्यता कायम राखिराख्न लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ।
यसैगरी, लिग २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ। नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हार बेहोर्दै ३७ अंकका साथ तेस्रो स्थानमा छ। अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ।
युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौँ स्थानमा छ। पपुवान्यूगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै अन्तिम स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।