काठमाडौं– चोरी तथा डाँका सम्बन्धी कसुरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं–२९ घट्टेकुलोस्थित दीपक भण्डारीको कोठाबाट चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोबाइल ग्यालरीका सञ्चालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका सञ्चालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय विनोद पौडेल रहेका छन्।
भण्डारीको कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजारसमेत भएको ब्याग माघ २६ गते चोरी भएको थियो। उक्त घटनाको अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो।
थप अनुसन्धान गर्दा दीपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोबाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो।
साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाईसमेत प्रहरीले पक्राउ गरेको हो।
उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।