काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालित ९ वटा पसलहरु जरिवानामा परेका छन्।
यात्रुसँग बजार मूल्यभन्दा तीन गुणा बढीसम्म मूल्य लिने गरेका पसलहरुमा अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको हो।
विभागका अनुसार कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको छ। ९ वटा पसललाई कारबाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए।
अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग वस्तुको एमआरपीभन्दा तीन गुणा बढी मूल्य असुलेको पाइएपछि जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ एयरपोर्ट टी–कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एविपी मार्ट प्रालि, ओम दुर्गा इन्टरप्राइजेज प्रालिमा तोकिएको बजार मूल्यभन्दा बढी मूल्यमा सामाग्री बिक्री गरिरहेको पाइएको हो।
यस्तै आन्तरिकतर्फ न्यू कन्फेक्सनरी स्टोर, एरपोर्ट टी–कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ कफी एण्ड कन्फेक्सनरी, पिडी इन्टरप्राइजेज तथा होट स्वनिङ गरी ९ वटा पसलमा अनुगमन गरी जरिवाना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।