काठमाडौं– बिचौलियाको काम गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बुधबार काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वाणिज्य विभागबाट उनीहरुलाई पक्राउ गरिएको हो।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो बनाइदिन्छु भन्दै रकम माग गर्ने काम गरेको भन्दै बुधबार दिउँसो तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछापको रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन्।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।