काठमाडौं– खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दाङमा दुई जना घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान ११:४५ बजे ग्यास सिलिण्डर पड्किदा सोही ठाउँकी ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।
खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएपछि उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।
प्रहरी निरीक्षक बेल्वासेका अनुसार घाइते दुवै जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ।
घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ। घाइते दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बुधबार राति काठमाडौं बुद्धनगरमा ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए। हरिकलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ भने चन्द्रलाई थप उपचारका लागि भारत लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।