काठमाडौं– खाना पकाउने (एलपी) ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारत लगिने भएको छ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति एलपी ग्यासको सिलिण्डर विस्फोट भएर आगो लाग्दा जलेर भण्डारीसहित उनकी आमा ८६ वर्षीया हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। जलनबाट शरीरको ७० प्रतिशत भागमा असर पुगेकी हरिकलाको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ।
भण्डारीको भने शरीरको करिब २५ देखि ३० प्रतिशत भागमा जलनले असर गरेको छ। कीर्तिपुर अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेपछि उनलाई भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा लैजान लागिएको हो। उनलाई केहीबेरमा त्यसतर्फ लगिनेछ।
कीर्तिपुर बर्न अस्पतालकी निर्देशक डा निजिना ताम्राकारका अनुसार भण्डारीका साथमा नर्भिक अस्पतालको क्रिटिकल केयर युनिटका चिकित्सकसहितको टोली पनि सँगै जाँदै छ।
उनीसँग जाने टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन्। नर्भिक अस्पतालका क्रिटिकल केयरका प्रमुख डा प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयरका डा वृहस्पति, फ्लाइट डाक्टर डा रोशन शर्मा र पारामेडिक्सतर्फ दिनेश राई, सागर महर्जन र राज तामाङ पनि सँगै जाने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।