काठमाडौं– खाना पकाउने (एलपी) ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले नेपालमै उपचार गराउने इच्छा व्यक्त गरेका छन्।
बुधबार राति घाइते भएका भण्डारी र उनकी आमाको कीर्तिपुरमा उपचार भइरहेको छ। उनलाई भेट्न पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भण्डारीले नेपालमै उपचार गराउने इच्छा व्यक्त गरेको जानकारी दिए।
‘उहाँ (भण्डारी)ले पनि यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गर्दै हुनुहुन्थ्यो। यद्यपि डाक्टहरुले भारत नै जाँदा राम्रो हुन्छ भनेको हुनाले त्यसकै तयारी भइरहेको छ,’ उनले भने।
उनका अनुसार भण्डारीलाई केही बेरमै भारत लैजाने तयारी भइरहेको छ। केही कागजपत्र मिलाउनुपर्ने भएकाले समय लागेको भए पनि अब केही बेरमै लैजाने उनले बताए।
भण्डारी बुधबार राति आफ्नै कोठामा एलपी ग्यास विस्फोट हुँदा घाइते भएका थिए। उनको शरीरको २५-३० प्रतिशत भाग जलेको बताइएको छ। सोही घटनामा घाइते भएकी उनकी आमाको भने ७० प्रतिशत भाग जलेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।