काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आममतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाउनुपर्ने बताएका हुन्। उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोबास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए।
उनले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानुन बनाएर आममतदातालाई दिइनुपर्ने उल्लेख गरे। यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने उनको दाबी छ।
‘अब बन्ने कानुनमा त्यो व्यवस्था गर्नुपर्छ भन्ने मेरो बुझाइ छ, नेपालभित्र अन्तिम मतदाता नामावलीमा नाम भएको कुनैपनि व्यक्ति, घरमा उसको मतदान केन्द्र छ, मतदान केन्द्रमै पुग्छ ठिक छ। तर, तपाई एउटा एनजीओमा काम गरिरहनुभएको छ, काठमाडौंमा छ। तपाईको घर चाहिँ मनाङ हो। तपाईंको घर ताप्लेजुङ हो। तपाईंले भोट नै हाल्न नपाउने भन्ने हुन्छ?’, थपलियाले भने, ‘जो जहाँ छ त्यहीँबाट कम्तिमा पनि समानुपातिक तर्फबाट उसले भोट हाल्न पाउने कुराको ग्यारेन्टी गर्नेगरी कानुन बनाउनुपर्छ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरुलाई मात्रै सर्वदलीय बैठकहरुमा समावेश गराउने प्रावधान राख्नेगरी आयोगले निर्णय गर्न लागेको पनि बताए। उनले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरुलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।