काठमाडौं– भारतको भन्सार विभागले बिहार अररियाको मीरगञ्ज पुल नेपालीका लागि पूर्ण रूपमा खुला गरेको छ। चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की पुल बनेपछि पुलबाट आवतजावत गर्न सकिने अनुमति दिइएको हो।
पुल सञ्चालनका लागि पहल गरिदिन भन्दै मोरङ व्यापार संघले दबाब दिँदै आएको थियो। यो पुल दुई महिना अघि नै सञ्चालनमा आएको थियो। तर, नेपालतर्फ भित्रने मालबाहक गाडी भण्टाबारी नाकाबाटै आउने गरेका थिए।
भारतीय भन्सार विभागले अब मालबाहक गाडीलाई आवतजावतको अनुमति दिएको हो। यो अनुमतिपछि भारतलगायत तेस्रो देशबाट नेपाल आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालबाहक गाडी ११६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भण्टाबारी नाकाबाट घुमेर आउनुपर्ने झन्झट अन्त्य भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए।
अब ४ किलोमिटर दुरी पार गर्नासाथ विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) आइपुग्ने सुविधा प्राप्त भएको छ। विभागले आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ।
साथै विराटनगरको आइसीपीबाटै आयात र निर्यातको औपचारिक सुरूआत भएको छ। मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने कारोबारमा १ वर्षमा २२ अर्ब ५० करोड रुपैयाँले गिरावट आएको थियो।
जोगवनी नाकाबाट मालबाहक जान नसकेपछि सुनसरीको भण्टाबारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए। जसको कारण एक वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाख रुपैयाँ बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।