नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भए पनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजीक्षेत्रलाई दिन आग्रह गरेका छन्।
बुधबारदेखि नवलपुरमा सुरु भएको सातौं नवलपुर महोत्सव २०७९ लाई सम्बोधन गर्दै महासंघका कार्यबाहक अध्यक्षसमेत रहेका ढकालले भने, ‘लामो समयसम्म यस फलाम खानीबाट व्यवसायिक रुपमा उत्पादन हुन सकेन। अब बिलम्ब नगरी यसको सञ्चालनको जिम्मा लिई क्षेत्रलाई दिइयोस्। यसलाई सञ्चालन गर्न हामी तयार छौं। हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौं।’
उनले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना सञ्चालनका कार्यक्रमहरु राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको कुरालाई औंल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल सञ्चालनमा लैजान सकिने विश्वास समेत व्यक्त गरे।
वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही सुचकहरु सकारात्मक हुँदै गएको बताउँदै छिट्टै अर्थतन्त्रमा सुधार आउने समेत विश्वास व्यक्त गरे।
नवलपुर जिल्ला कृषि, पर्यटन र औद्योगिक गतिविधिका लागि महत्वपूर्ण रहेको बताउँदै आफू यस क्षेत्रको विकास र समुन्नतिका लागि यहाँका स्थानीय व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको उनले बताए।
‘यो जिल्ला भारतसँग सिमाना जोडिएको र धेरै क्षेत्रमा सम्भावना भएको क्षेत्र हो। आउनुस, तपाईं हामी व्यावसायिक गतिविधिमा सहकार्य गरेर अगाडि बढौं। यहाँका व्यवसायी साथीहरुले कुनै प्रस्ताव ल्याउनुभयो भने त्यसमा म व्यक्तिगतरुपमा सहकार्य गर्न तयार छु,’ उनले भने।
आफू एउटा बैंकर भएको नाताले हरेक ठाउँमा जाँदा व्यवसायीहरुले बैंकसँग सम्बन्धित प्रश्नहरु उठाउने गरेको बताउँदै उनले निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर पनि स्वतः बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।