काठमाडौं– नागरिक उन्मु्क्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद अरुणकुमार चौधरीको मुद्दामा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भइ फरार भएका चौधरीलाई प्रहरीले बाँकेबाट नियन्त्रणमा लिएको थियो। उनले माघ २२ गते म्याद बदर गरिपाउँ भन्दै रिट दायर गरेका थिए। तर रिटमा सुनुवाइ हुन बाँकी रहेको कारण देखाउँदै उच्च अदालतका न्यायाधीश देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
म्याद बदरसम्बन्धी रिटमा जिल्ला अदालत कैलालीबाट जवाफ पेस नभएको भन्दै तत्काल बन्दी प्रत्यक्षीकरणको रिटमा कुनै आदेश नदिइएको हो। उच्च अदालतले २३ माघमा १५ दिनको म्याद दिएर चौधरीको मुद्दामा जिल्ला अदालत कैलालीसँग लिखित जवाफ पेस गर्न भनेको थियो।
११ फागुनमा उक्त म्याद सकिँदैछ। चौधरीले २७ माघमा उच्च अदालत दिपायलमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै आफूलाई कारागार बाहिर बसेर सुनवाइमा भाग लिन दिन माग गरेका थिए।
कैलाली कारागारमा कैद भुक्तान गरिरहेका चौधरीले बुधबार जिल्ला अदालतमा उपस्थित भएर भर्चुअल विधिमार्फत उच्च अदालतमा बयान दिएका थिए। १३ वर्ष अघि ट्रयाक्टर जलाएको घटनामा दोषी ठहर भइ ६ महिना कैद सजाय सुनाइएका चौधरी १९ माघमा बाँकेबाट पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।