काठमाडौं– नेपाल बैंकर्स संघले तत्काल एकल बिन्दुरमा ब्याजदर कायम गर्न नसकिने बताएको छ। बुधबार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले विस्तारै ब्याजदर घट्ने सम्भावना देखिए पनि तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताएका छन्।
उनले पछिल्लो अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिए पनि बैंकहरु दबाबमा नै रहेको दाबी गरे। उद्योगी व्यवसायीहरुबाट बैंकको ब्याजदर बढी भएको भन्दै बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउन मागहरु आए पनि तत्काल ब्याजदर घटाउन सक्ने अवस्था नभएको उनको भनाइ छ।
उनले बैंकहरुले लिएको नीतिले विस्तारै ब्याजदर घट्दै जाने अवस्था देखिएको पनि उल्लेख गरे। बैंकहरु कर्जाको ब्याजदरलाई स्थिर राख्नुपर्छ भन्ने विषयमा सजक रहेको उनले बताए।
अध्यक्ष केसीले संसारभर ब्याजदर बढीरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको दाबी गरे। चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको बताउँदै आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन गर्ने लक्ष्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।