काठमाडौं– प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको टिप्पणी गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको बिरोध गरेका हुन्।
यस निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाइ छ।
त्यसो हुनु गलत भएको सांसद पाण्डेले बताए। उनले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजस्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताए।
सांसद पाण्डेले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुनसक्ने पनि चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।