काठमाडौं– राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपले भूमिका खेलेपनि यसपटक भने प्रत्यक्ष रुपमा नै भुमिका खेलेको आरोप लगाएका छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्।
शक्ति राष्ट्रहरुले यसपटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रतिका लागि भूमिका खेलिरहेको केसीको भनाइ छ। यसले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको केसीले उल्लेख गरे।
सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे। उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए।
भूगोलको हिसावले राष्ट्र सानो ठूलो भए पनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो ठूलो नहुने केसीको भनाइ छ।
केसीले भने– एक दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो। एउटा कर्मचारी। उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरुको बीचमा उहाँले भेटघाटको अभियान चलाउनु भयो। राष्ट्र सानो ठूलो हुनसक्छ। निश्चय पनि नेपालको तुलनामा भारतको भुगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ। तर सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो ठूलो हुँदैन। सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ। तर नेपालबाट पूर्वप्रधानमन्त्रीहरु वा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुले, खास गरेर उपल्लो तहका शासकहरुलाई भेट्नै सक्दैन। उहाँहरु निराश भएर फर्किनुपर्छ। तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरु आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरुको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरुलाई अलिकति लाज लाग्दैन? नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ। त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रुपले नै आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ। यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ। विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशीर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेका छौँ, यसले वास्तवमा राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।