काठमाडौं– जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनैपनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुर गर्ने चेतावनी दिएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन्। उनले आवाजविहीनको आवाज कसले सुनिदिने? भन्दै प्रश्न गरे।
जन्मसिद्ध नागरिकका सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै यादवको प्रश्न छ।
‘यो न्यायको मन्दिर हो। आवाजविहीनको आवाज कसले सुनिदिने? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने? रुँदै आउँछन् उनीहरु। उनीहरुको लागि न्याय दिने आज कोही छैन’, यादवले भने, ‘यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय। जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ? बाबु र आमा नेपाली नागरिक हुँदा हुँदै पनि आज नागरिकताबिना भड्किरहेका छन्। म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने, ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदनबाट संघर्ष गर्छ।’
सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताविहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।