काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा समय माग गरि बोल्दै सांसद केसीले सर्वोच्च अदालत कायममुकायमको नेतृत्वमा हुँदा यसले सर्वोच्च अदालतमा मनोवैज्ञानिक र संस्थागत असर पर्ने उल्लेख गरे।
उनले विधिको शासन पालनको निम्ति सर्वोच्च अदालतलाई पूर्णता दिने काम तत्कालै प्रारम्भ गर्न सरकारलाई आग्रह गरे। त्यस्तै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग अनिर्णित भएको भन्दै यसो हुनु विधिविहीनताको पराकाष्ठा भएको टिप्पणी गरे।
‘देशको संविधानको रक्षक, नेपाली जनताको सर्वोच्चता र सार्वभौमिकताको संरक्षक सर्वोच्च अदालत वर्षदिनदेखि कामु नेतृत्वमा छ। यसले पर्ने मनोवैज्ञानिकदेखि संस्थागत असर जुन छ त्यतातिर सरकार गम्भीर भएर सरकार ध्यानाकर्षित हुनुपर्ने मैले आवश्यकता देखेको छु’, उनले भने, ‘यो संसद्को अधिकारलाई महासचिवले प्रयोग गरिएको हुनाले अन्तरिम आदेश दिइएको छ भनेर। त्यो अन्तरिम आदेशको आधारमा अहिले संसद्ले शपथ ग्रहण गरेको दुई महिना भइसक्दा पनि संसद्मा त्यो अन्तरिम आदेश र सम्पूर्ण फाइलहरु प्रस्तुत नहुनु मैले दु:खद् ठानेको छु। मेरो ध्यानाकर्षण संविधानवादको रक्षाका लागि, विधिको शासन पालनाका निम्ति सर्वोच्च अदालतलाई पूर्णता दिने काम तत्कालै प्रारम्भ गरोस् सरकारले।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।