काठमाडौं– उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरवलोकन गर्ने तयारीमा रहेको बताएका छन्।
अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नका लागि भएपनि समग्र आर्थिक नीतिकै पुनरवलोकन गर्ने पक्षमा रहेको बताए।
अर्थमन्त्री पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नका लागि मुलुकको आर्थिक नीतिकै पुनरवलोकन नजिक रहेको बताए। उनले सरकारले मुलुकको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन,निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्ने भन्दै आएपनि अपेक्षा अनुसार नतिजा आउन नसकेको स्वीकार गरे।
उनले विगतमा नेपाल कतिपय वस्तुहरुमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरुमा पनि परनिर्भरता बढ्दै गएको बताए। उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले नीति परिमार्जन गर्न आवश्यक कदम चाल्नुपर्ने क्षण आएको उल्लेख गरे।
अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट ल्याउने समयसम्म आर्थिक नीतिलाई पुनरवलोकनका काम सक्ने पक्षमा रहेको बताए।
त्यस्तै, अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रमलाई सरकारको कार्यक्रमको रुपमा लिएको उल्लेख गरे। उनले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानका विषयमा समेटिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।