काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ। पार्टी नेतृत्वले नै सहमतिका आधारमा नेतृत्व चयन गर्न जोड दिएपछि संगठनका नेताहरु पनि सहमतिका लागि प्रयासरत छन्।
सहमति जुट्न नसकेको अवस्थामा भने आज (बुधबार) नै निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ। अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
निवर्तमान कमिटी मंगलबार नै भङ्ग गरेर अध्यक्ष मण्डलको घोषणा गरिएको छ। भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन्।
महाधिवेशनमा सहभागी हुन देशभरिबाट १ हजार ८० प्रतिनिधि आएका छन्। महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति तथा ३ वटा केन्द्रीय आयोग पनि निमार्ण गर्नेछ। प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन्।
अनेरास्ववियुको भावी नेतृत्वका लागि आरसी लामिछाने लगायत ५ जना आकांक्षी छन्। उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।
सहमतीयबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको निवर्तमान अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।