काठमाडौं– बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणमा सरकार र निर्मला कुर्मीको न्यायका लागि संघर्षरत पक्षबीच तीन बुँदे सहमति भएको छ।
शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने लिखित प्रतिबद्धता जनाएपछि धर्नारत रुवि खानले सहमति गरेकी हुन्।
यससँगै खानले निर्मला कुर्मी हत्या प्रकरणमा जारी राखेको धर्ना पनि स्थगित गरेकी छन्। सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमति गरेको छ।
बाँकेबाट काठमाडौं आएका रुवि खानसहितका महिलाहरु ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका थिए। सरकारसँगको सहमतिपछि धर्नाका कार्यक्रम स्थगित गरिएको बताइएको छ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली बनाएर न्यायिक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशनपछि मंगलबारै गृहमन्त्रालयमा भएको छलफलपछि धर्नारत महिलाहरू र सरकारबीच तीन बुँदे सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।