काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। विदेश सचिव क्वात्राले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौं आएका क्वात्राले बैठकपछि उच्चस्तरीय भेटघाट जारी राखेका छन्। जसअन्तर्गत सोमबार दिउँसो उनले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्।
भेटका क्रममा दुई देशको सम्बन्ध, पारस्परिक हित लगायत विषयमा कुराकानी भएको जनाइएको छ।
क्वात्राले सोमबार नै परराष्ट्रमन्त्री विमलाई पौड्याल राईसँग पनि भेटवार्ता गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।