काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा ४ अर्ब ५६ करोड ६ लाख २९ हजार ७१२ रुपैयाँ २४ पैसा राजस्व संकलन गरेको छ। महानगरले चालु आवमा १० अर्ब ४ करोड १९ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
महानगरलाई बजेटमार्फत सम्पत्ति करमा यस वर्ष १ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो। जसको ६५.२ प्रतिशत अर्थात् ६५ करोड २० लाख १० हजार ८ सय रुपैयाँ संकलन भएको राजस्व विभागले जनाएको छ। २ अर्ब ५० करोड रुपैयाँ प्रस्ताव गरिएको घर जग्गा रजिष्ट्रेसन दस्तुरको १५.५१ प्रतिशत अर्थात् ३८ करोड ७८ लाख ७० हजार ८ सय रुपैयाँ संकलन भएको छ। २ अर्ब प्रस्ताव गरिएको बहाल करतर्फ १ अर्ब १८ करोड १५ लाख ५१ हजार ४ सय रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ५९.०८ प्रतिशत हो।
काठमाडौं महानगरपालिकाका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार संविधानको अनुसूची ८ मा भएको व्यवस्था बमोजिम बहाल कर स्थानीय तहको एकल अधिकार भित्र पर्छ।
तर, संघीय सरकारले संस्थागत बहाल कर आफ्नो क्षेत्राधिकार भित्र रहेको भन्दै आफैं संकलन गरेको छ। यसबाट करदातालाई पालिका र संघीय सरकारलाई दोहोरो कर बुझाउनुपर्ने परिस्थिति सिर्जना भएको उनले बताए। ‘यसले एकातिर महानगरको अधिकार क्षेत्र मिचिएको छ भने अर्कोतिर लक्षित आय पूरा गर्न चुनौती भएको छ,’ काफ्लेले भने।
नक्सा पास दस्तुरमा ७५ करोड प्रस्ताव गरिएकोमा ४१ करोड ५७ लाख ८६ हजार ७४४ रुपैयाँ प्राप्त भएको छ। यो लक्ष्यको ५५.३ प्रतिशत प्रगति हो। ५५ करोड प्रस्ताव गरिएको व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३१ करोड ४२ लाख ९ हजार रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ५७.१३ प्रतिशत हो।
३६ करोड ५२ लाख ५४ हजार रुपैयाँ प्रस्ताव गरिएको बाँडफाँटतर्फ मूल्य अभिवृद्धि करबाट ८ करोड ९२ लाख ७३ हजार ७ सय (२४.४४ प्रतिशत) प्राप्त भएको छ। बाँडफाँटमै सवारी साधन करतर्फ ४६ करोड ३४ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा १२ करोड ९ लाख ८७ हजार ८ सय रुपैयाँ (२६.१ प्रतिशत), मनोरञ्जन करतर्फ ५० लाख रुपैयाँ प्रस्ताव गरिएकोमा ९० लाख ८२ हजार रुपैयाँ (८१.६५ प्रतिशत) र बिज्ञापन करतर्फ ८० करोड रुपैयाँ प्रस्ताव गरिएकोमा १ करोड २३ लाख ६१ हजार ९७३ रुपैयाँ (१५.४५ प्रतिशत) आय रकम प्राप्त भएको छ।
साना सवारी कर शून्य
महानगरको राजश्व विभागका अनुसार चालु आवको साना सवारी कर अहिलेसम्म उठ्न सकेको छैन।
साना सवारी करतर्फ ५ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा यस शिर्षकमा आय हुन सकेको छैन अर्थात् आय शून्य छ। यस्तै बाँडफाँटबाट प्राप्त हुने अन्तःशुल्क तर्फ पनि आय प्राप्त भएको छैन।
वित्तीय निकायबाट प्राप्त हुने ब्याजबाट १ लाख रुपैयाँ र अन्य निकायबाट प्राप्त लाभांशमा ५ लाख रुपैयाँ आय प्रस्ताव गरिएको थियो। यी दुवै शीर्षकमा आय प्राप्त भएको नभएको महानगरले जनाएको छ। महानगरका अनुसार २ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको पूँजीगत सशर्त अनुदान शीर्षकमा पनि आय भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।