काठमाडौं– सोमबार काठमाडौं आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तीब्र पार्ने भएका छन्।
नेपाल–भारत सचिवस्तरीय बैठकका लागि काठमाडौं आएका क्वात्राले राष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्मा रहेका सबै दलहरुका प्रमुख नेतासँग भेट गर्ने कार्यक्रम राखेका छन्।
नेपालका लागि पूर्वभारतीय राजदूत समेत रहेका क्वात्रा भारतीय विदेश सचिवको रुपमा पहिलो पटक नेपालमा भ्रमणमा आएका हुन्।
सोमबार काठमाडौं आएलगत्तै नेपाल र भारतको सचिवस्तरीय वार्तामा सहभागी भएका छन्। सचिवस्तरीय वार्तापछि नेपालका परराष्ट्रमन्त्रीसँग भेटेका क्वात्राले सोमबारै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दैछन्।
त्यसका साथै काठमाडौंस्थित भारतीय दूतावासले क्वात्रासँगको भेटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरको समय मिलाएको जनाइएको छ। रास्वपा अध्यक्ष रवी लामिछानेसँग क्वात्राको भेट हुने वा नहुने त्यो अहिलेसम्म खुलेको छैन।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा नेपालका सत्तारुढ दलभित्रै मतभेद देखिएका बेला काठमाडौं आएका भारतीय विदेश सचिवको राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। क्वात्रा मंगलबार साँझ दिल्ली फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।