काठमाडौं– नेपाल सरकारले भूकम्पले क्षतिग्रस्त बनेको टर्कीलाई सहयोग पठाएको छ। सरकारले टर्कीस एयरलाइन्समार्फत् सोमबार २२ टन राहात सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘टर्कीको भूकम्पमा परी पीडित बनेका नागरिकका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाइएको छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ, ‘०६ फेब्रुअरी २०२३ मा टर्किमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले राहत सामग्री पठाउने निर्णय गरेको हो।’
टर्की र सिरियाको बीचमा गएको भूकम्पमा हालसम्म करिब ३५ हजारभन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय संस्थाहरुले बताएका छन्।
टर्कीमा भूकम्प गएपछि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री बिमला राई पौड्यालले समकक्षीलाई टेलीफोन मार्फत् दु:ख व्यक्त गरेकी थिइन्।
‘भूकम्पपछि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्र मन्त्री माननीय डा विमला राई पौड्यालले टर्कीका समकक्षी एचई श्री मेभलुत चाभुसोउलुसँग टेलिफोन वार्तामा अमूल्य जीवन र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै जनतासँग ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल तयार रहेको बताउनु भएको थियो,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।