काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताए।
आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै प्रचण्डले असफल हुने छुट नरहेको बताए।
उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको जिकिरसमेत गरे। प्रधानमन्त्री प्रचण्डले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोशिसहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए।
फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउँदै उनले सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिलसमेत गरे।
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु गर्ने बताए। उनले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकांक्षा र देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।