काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व नेकपा (एमाले) ले लिनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सचिव पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले गर्दा राम्रो हुने धारणा राखेका हुन्।
उनले एमालेको लागि झनै राष्ट्रिय सहमति आवश्यक भएको तर्क गरे। उनले गठबन्धनलाई जोगाउँदै अन्य दललाई पनि गठबन्धनमा सामेल गर्नु आवश्यक रहेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन जोगाउनका लागि सबैसँग छलफल गरिरहेको पौडेलले जानकारी दिए।
'चुनौतिहरुलाई सामूहिक रुपमा नै फेस गर्नका निम्ति राष्ट्रिय सहमति गरौँ भनेका छौँ। कसैलाई हटाउने, कसैलाई निकाल्ने हाम्रो केही उद्देश्य पनि छैन। लक्ष्य पनि छैन। सबैलाई मिलाएर लाने प्रयत्न रहन्छ', उनले भने।
त्यस्तै, माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर शाहीले वर्तमान व्यवस्थाको रक्षाका लागि संसद्मा सामेल सबै राजनीतिक पार्टीहरुका बीचमा सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताए।
उनले भने, ‘अहिले राष्ट्रिय एकताको आवश्यकता हो। संसद्मा सामेल भएका सबै राजनीतिक पार्टीहरुबीचको सहकार्य अहिलेको आवश्यकता हो। व्यवस्थाको रक्षाका लागि राष्ट्रिय सहमति आवश्यकता हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।