काठमाडौं– आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते 'जनयुद्ध दिवस' का रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
विसं. २०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र विद्रोह २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।
गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई 'जनयुद्ध दिवस' को रूपमा मनाउँदै आएको छ।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो। यस्तै कर्णाली प्रदेश सरकारले पनि फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजिनक बिदा दिने निर्णय गरिसकेको थियो।
कतिपयले भने हजारौं नेपालीको ज्यान जाने गरी सशस्त्र द्वन्द्व सुरु गरेको भनि नेकपा माओवादीको आलोचना गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।