काठमाडौं– निर्वाचन आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम २०७८ साल साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौं वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी सामु पेस गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले उक्त प्रतिवेदन पेस गरेका हुन्।
उक्त अवसरमा राष्ट्रपतिले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र यस आर्थिक वर्षमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त अवसरमा प्रमुख आयुक्त थपलियाले गत आर्थिक वर्षमा भएका मुख्य गतिविधि र प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए।
आयुक्त थपलियाले निर्वाचनको सञ्चालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान र कानूनको अधिनमा रही कार्य सम्पादन गर्दै आएको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।