काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्।
आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौं, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।’
उनले अहिले नै बेला नभएको भन्दै दुई महिने अभियानले नै माओवादीको अवस्था र कार्यकर्ता तथा जनताको आकांक्षा पहिचान हुने दाबी गरे। उनले भने, ‘त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौं।’
अहिले सरकारको नेतृत्व गरिरहँदा माओवादीका लागि यो अवसर चुनौतीपूर्ण रहेको पनि उनले बताए। उनले भने, ‘हामीले सरकारको नेतृत्व गरिरहेका छौं। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौं। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईंहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला।’
उनले विश्वासको मतपछि परिस्थिति हेरफेर भएको भन्दै विश्वासको मत लिनअुघिको वातावरण अहिले नभएको बताए। उनले नेपाली कांग्रेसतर्फ संकेत गर्दै सरकारलाई विश्वासको मत दिने पार्टीहरुको भावना पनि सम्बोधन गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।